आगलागीमा परी घाइते भएका कांग्रेसका नेता भण्डारीको आज पुन : शल्यक्रिया गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा डा शंकर राईले जानकारी दिए ।

पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा. तिमोथी स्प्रौलसमेत आएको अस्पतालका प्रमुख डा, राईले बताए ।

नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा शल्यक्रिया गर्न आएको जनाइएको छ ।

डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको डा भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिए ।

डा भण्डारीको शल्यक्रियामा डा. स्प्रौलसँगै प्रा डा बिडी झा, प्रा डा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोली रहने छ ।

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको शुरूमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो ।

भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उनलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो । अस्पतालमा उनलाई फिजियो थेरामी, ड्रेसिङलगायतका उपचार गराइएको थियो ।

उनको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उनलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उनका निकटस्थहरूले बताएका छन् ।