सर्पले डसेर एक वृद्धाको मृत्यु

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो ।

उनलाई बुधबार राति घरमा सुतेकै ठाउँ गोमन सर्पले डसेको स्थानीयले बताएका छन् । श्रेष्ठलाई बुधबार राति १ बजेतिर सर्पले डसेपछि उपचारका लागि लालबन्दी १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय गणेश श्रेष्ठले जानकारी दिए ।

सर्लाहीमा यो वर्ष विषालु सर्पले डसेर तीन जनाको मृत्यु भएको छ । यसअघि चन्द्रनगर गाउँपालिकाको मोहनपुरका एक बालक र बागमती नगरपालिकाको बसनियाँमा अर्का एक बालकको विषालु सर्पले डसेर मृत्यु भएको थियो ।

गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले घर छेउछाउ सरसफाइ गर्न, राति बाहिर निस्कँदा बत्ती बालेर मात्रै हिँड्न, सुत्ने समयमा ओछ्यान राम्रोसँग हेर्न र झुलको प्रयोग गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।