काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पछिल्लो सुन तस्करी प्रकरणमा सत्ता पक्ष नै संलग्न रहेको आफूहरूको निष्कर्ष रहेको दाबी गरेका छन् ।
नेकपा एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा महासचिव पोखरेलले त्यही निष्कर्षका आधारमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन माग गरेको बताएका हुन् । उनले सुनको अवैध कारोबारका लागि पशुपतिको जलहरी प्रकरण उठाइएको समेत बताए ।
महासचिव पोखरेलले भने, सुनको अवैध कारोबार गर्न पशुपति सुन काण्ड बाहिर ल्याइयो । दुई महिनामा यति ठूलो सुन तस्करी भएको तत्थ्य छ भने एक वर्षमा कति हुन्थ्यो होला । यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्नै कुराको निष्कर्षका आधारमा हामीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हौं ।
त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु भएको पनि महासचिव पोखरेलले बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थीका मुद्दामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु भयो । गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरियो ।’
Add Comment