अवैध काठ नियन्त्रणमा लिँदा प्रहरीमाथि स्थानीयको आक्रमण

काठमाडौँ । धनुषामा आइतबार राति सखुवाको काठ प्रहरीले नियन्त्रणमा लिएपछि झडप हुँदा प्रहरी निरीक्षक र जवान घाइते भएका छन्। धनुषाको बटेश्वर गाउँपालिका–५ मा प्रहरी र स्थानीय बासिन्दाबीच काठको विषयमा विवाद हुँदा स्थानीयको आक्रमणबाट प्रहरी घाइते भएका हुन्।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक दीपककुमार राय र प्रहरी जवान रामविश्वास पण्डित रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। उनका अनुसार बटेश्वरमा सखुवाको ८ वटा गोलिया काठ प्रहरीले नियन्त्रणमा लिँदा करिब ६०–७० जना स्थानीयले ढुंगामुढा गर्दा प्रहरी निरीक्षकको आँखामा र प्रहरी जवान पण्डितको टाउकोमा चोट लागेको छ।

ढुंगा प्रहार गरेर स्थानीय भागेको प्रहरीले जनाएको छ। घाइते दुवैजनाको उपचार महेन्द्रनगरमै भइरहेको धनुषा प्रहरीले जनाएको छ।