मेयर साम्पाङले आफूमाथि दुर्व्यवहार गरिएको भन्दै प्रहरीमा दिए उजुरी

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध उजुरी हालेका छन् ।
मेयर साम्पाङले जग्गाधनी आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् ।

मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए । अदालतले उक्त जग्गामा वृक्षारोपण नगर्न आदेश दिएको थियो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै हप्काएको भिडिओले अहिले पाईरहेको छ ।

उनले अदालतको पत्रसमेत देखाएपछि मेयर ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए । भिडिओ भाइरल भएसँगै मेयर साम्पाङले २४ घण्टाभित्र मुद्दा हाल्ने चेतावनीयुक्त स्टाटस लेखेका थिए ।

अदालतको आदेश बेवास्ता गर्दै पुनस् वृक्षारोपण गर्न गएपछि जग्गाधनीले अवरोध गरेका थिए । सो भिडियोमा मेयरलाई अवरोध गर्ने रोजिना अधिकारी र उनका पति थिए । धरान-४ की रोजिनाले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोग चलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको छ ।

साउन ६ गते शनिबार धरानका मेयर हर्क साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ ९ग० कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षारोपण गरेका थिए ।

सो जग्गाको रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको छ । उनलाई नगर प्रहरी लगाएर लछारपछार गर्दै मेयर साम्पाङले अभियन्तासहित वृक्षारोपण गरेका थिए ।