‘मलाई अब नखोज्नु’ भन्ने सन्देश पठाएका औषधी व्यवसायी चार दिनदेखि सम्पर्कविहिन

काठमाडौं । बुटवलका औषधी व्यवसायी गंगा ढकाल ४ दिनदेखि सम्पर्कविहिन भएका छन्। बुटवलको मैत्रीपथमा लामो समयदेखि औषधी पसल सञ्चालन गर्दै आएका ५३ वर्षीय ढकाल शनिवार अपरान्ह घरबाट हिँडेपछि सम्पर्कमा नरहेको पारिवारिक श्रोतले जनाएको छ।

शनिबार बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको र आइतबार बिहान चितवनकै एक कुरियरमार्फत आफूले लगाएका कपडा र आफूलाई अब नखोज्नु भन्ने सन्देश पठाएकाले परिवारमा चिन्ता बढेको हो ।

मोबाइल फोन र नियमित लगाउने घडीसमेत घरमै छोडेर गएका ढकाल आइतबार साँझ सवा ७ बजे पछिल्लो पटक नारायणी नदीको पुलमाथि देखिएको र त्यसपछि कुनै सम्पर्क नभएको पारिवारिक श्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आइतवार साँझ करिव सवा सात बजेको समयमा एक ब्यक्ति नारायणी नदी पुलबाट हाम फालेको सुचना प्राप्त गरेको र हाम फालेका ब्यक्तिको खोजतलास भएपनि नभेटिएको बताए।

तर त्यो दिन नदीमा हाम फाल्ने उनी हुन् वा होइनन् भन्ने केही नखुलेको उनले बताए । तर सिसिटिभीमा उनी पैदल बजारबाट पुलतर्फ लागेको तर गैडाकोटमा नभेटिएकाले त्यो हुनसक्ने आशंका रहेका बताए ।

ढकाल बिभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेकाले के कारणले घर छोडेर हिँडे भन्ने खुलेको छैन । सबैसँग घुलमिल हुने स्वभावका व्यवसायीको यो समाचारले धेरै व्यवसायीलाई निरास बनाएको जनाएका छन् ।

औषधि व्यवसायी संघका अध्यक्ष सुरज भट्टराईले प्रहरी, परिवारजन तथा व्यवसायीको टोली नितरन्तर खटिएपनि केही पत्ता नलागेको र आफू चितवनमै रहेको बताए ।