नेपालले कुवेतलाई दियो झिनो रनको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय खेलको दोस्रो खेलमा कुवेतलाई झिनो अर्थात् ९० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

कुवेतविरुद्ध नेपालले आफ्नो इनिङमा बाउन्ड्रीका रूपमा जम्मा ३ चौका मात्र प्रहार गरेको थियो।

नेपालका लागि इन्दु वर्माले १९ बलमा २ चौकाको सहयोगमा २३ रन बनाउँदा बिन्दु रावलले ४५ बलमा २० रन तथा काजल श्रेष्ठले १८ बलमा १ चौकाको सहयोगमा १९ रनको नटआउट इनिङ खेलिन्।

कुवेतका लागि मारियम हाइदरले ४ विकेट लिँदा मार्यम ओमारले २ तथा प्रियाद मुरली र खादिजा खालीलले १-१ विकेट लिएका थिए।

पहिलो खेलमा हङकङलाई पराजित गरेकाले दोस्रो खेलमा कुवेतलाई पनि हराउने लक्ष्यमा रहेको छ। चार देश सम्मिलित सिरिजमा कुवेत, हङकङ, मलेसिया र नेपाल रहेका छन्।

नेपालले समूहको अन्तिम खेलमा शुक्रबार मलेसियाको सामना गर्नेछ। शीर्ष दुईमा रहने टिमबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

पराजित हुने टिमबीच तेस्रो स्थानका लागि खेल हुनेछ।

नेपालले आगामी सोमबार थाइल्यान्डसँग पनि अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ। त्यसपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ। एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामानै आयोजना हुँदैछ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन्। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्।

दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन्। फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-२० विश्वकप छनोटमा स्थान बनाउने छन्।