विरोध चर्कीएपछि रेलमार्गको ठेक्का रद्द

काठमाडौँ । चौतर्फी विरोधपछि रेल विभागले रेलमार्गको ट्याकबेड निर्माणका लागि लगाएको ५४ वटा ठेक्का रद्द गरेको छ। विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का मंगलबार रद्द गरेको हो। निश्चित ठेकेदारले मात्र पाउने गरि सेटिङमा ठेक्का लगाइएको, रेलमार्गमा पर्ने जग्गाको मुआब्जा विवादसमेत नसुल्झिएको भन्दै उक्त ठेक्का प्रक्रियाको चौतर्फी विरोध भएको थियो।

विभागले असार १४ मा ३० वटा र १७ गते २४ वटा ठेक्काका लागि सूचना निकालेको थियो। काकडभिट्टादेखि इनरुवासम्म १०६ किलोमिटर खण्डमा रेल्वे ट्रयाक बनाउन ठेक्का आव्हान गरिएको थियो।

पूर्व–पश्चिम रेलमार्गअन्तर्गत रेल्वे ट्रयाकबेड (लिक बिछ्याउने ट्रयाक) बनाउन रेल विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो।

रेलको ठेक्काको विषयमा उच्च अदालत पाटनमा मुद्दासमेत परेको थियो। उच्चले भने ठेक्का प्रक्रिया अघि बढाउन सक्ने फैसला गरेको थियो।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले रेलमार्ग निर्माणको ठेक्का प्रक्रिया मिलेमतोमा सिमित ठेकेदार कम्पनिलाई पार्ने गरि काम भएको भन्दै रद्द गर्न माग गरेको थियो।