राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउको कफन बाँधेर आन्दोलनमा उत्रिएको छौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा सहभागी नहुने बताएका छन् ।

बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउको कफन बाँधेर आन्दोलनमा उत्रिएको बताए ।

यसका लागि आ–आफ्नो स्थानमा गएर सङ्घर्षको मैदानमा उत्रिन कार्यकर्तालाई निर्देशन दिँदै उनले ६ महिनाभित्र आफूहरूको लक्ष्य प्राप्त हुने दाबी गरे । काठमाडौँसहित देशका विभिन्न भाग सभाको आयोजना गर्ने भन्दै उनले यसलाई तेस्रो जनआन्दोलनमा रुपमा अगाडि बढाउने बताए । यस आन्दोलनमा सबैलाई सहभागी हुन उनको अपील छ ।

बेलैमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभए पछि पछुताउनुपर्ने भन्दै उनले गणतन्त्र र संघीयता खारेज गर्दै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रका लागि आन्दोलन गरिने जानकारी दिए । राजसंस्था पुनर्स्थापना गर्न आफूहरू सफल हुने र पार्टीको मूल एजेण्डा रहने भन्दै उनले यसका लागि आन्दोलन घोषणा गरिएको बताए ।

कुनै दलमा विभाजन नभई देशको स्वाभिमान रक्षाका लागि सबै एकैस्थानमा उभिनुपर्ने भन्दै अध्यक्ष थापाले इमान्दारिता पूर्वक आफ्नो एजेण्डामा पुनर्विचार गर्न कांग्रेस, एमाले, माओवादीसहितका दलहरूलाई आग्रह गरे ।

जनता र राजा मिलेर देश बचाउनुपर्ने भन्दै घोषणा सभामा नारा लगाइएको थियो ।