महिला टी-२० : मलेसियासँग हारे पनि नेपालले फाइनल खेल्ने

काठमाडौं । चार देश सम्मिलित टी-२० सिरिजमा नेपाली महिला क्रिकेट टिम समूह चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको छ।

पराजय भोगे पनि नेपाल फाइनलमा पुग्न सफल भयो। दुई दुई खेलमा जित निकालेका नेपाल, हङकङ र मलेसियाको समान ४-४ अंक हुँदा रनरेटमा अघि रहेका नेपाल र हङकङ फाइनलमा पुगे। फाइनल शनिबार हुनेछ।

नेपाललाई शुक्रबार घरेलु टिम मलेसियाले डिएल मेथडमा ६ विकेटले पराजित गर्‍यो।

वर्षाले प्रभावित खेलमा १८ ओभरमा ८५ रनको लक्ष्य मलेसियाले ४ विकेट गुमाएर १६.२ ‌ओभरमा पूरा गर्यो।

मलेसियाका लागि अइना हसिमले नटआउट ३७ रन तथा इजाती इम्माइलले २१ रनको योगदान दिए।

बलिङमा नेपालकी पूरा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ८३ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३ रन, इन्दू बर्माले २० रन र काजल श्रेष्ठले १८ रनको योगदान गरे।

बलिङमा मलेसियाकी अइना हसिम, महिराह इजाती इम्माइल र नुर समादले २(२ विकेट लिए।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो।

सिरिजपछि नेपालले आइसिसी महिला टी(२० विश्वकप एसिया छनोट खेल्नेछ।

मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।

विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।