लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीद्वारा आत्महत्याको प्रयास, नर्भिक अस्पताल भर्ना

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउदैँ मुद्दा हालेकी गौशाला २६ अस्पताल भर्ना भएकी छन् ।

औषधिको ओभरडोज सेवन गरेपछि आज उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो । अहिले उनी खतरामुक्त रहेको प्रहरी स्रोतले बतायो ।

गौशाला २६ ले सामाजिक सञ्जालमा अस्पतालभित्रको तस्बिर पोस्ट गर्दै ‘बाँच्नभन्दा मर्न गाह्रो’ भनेर लेखेकी छिन् ।

आज बिहान उनले आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको सामाजिक सञ्जालमा बताएकी थिइन् ।

आफ्नो शरीर अब धेरै पीडा खप्न सक्ने अवस्थामा नरहेको समेत उनले लेखेकी छन् ।

यसैबीच गौशाला २६ सँग निकट रहेकी पत्रकार निशा वलीले गौशालाले आत्महत्या प्रयास नगरेको बताएकी छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै वलीले पेनिक अट्याक बढेपछि डाक्टरले दिएको औषधि आफैँले बढाएर खाँदा अस्पताल भर्ना हुनुपरेको जानकारी दिएकी छन् ।

सन्दीपविरुद्धको मुद्दामा भोलि पेशी तोकिएको छ ।  अघिल्लो वर्षको भदौमा गौशाला २६ ले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

आफूविरुद्ध किटानी जाहेरी परेको बेला क्रिकेट खेलका कारण विदेशमा रहेका लामिछानेलाई नेपाल फर्कनेबित्तिकै प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरे पनि सर्वोच्च अदालतले विभिन्न शर्त राखेर उनलाई क्रिकेट खेल्नका लागि विदेश जानेसम्मको अनुमति दिएको थियो ।

यसैबीच, सन्दीप भोलि आइतबार नै आफूविरुद्धको मुद्दाको सुनुवाइपछि एशिया कप क्रिकेट २०२३ मा सहभागिता जनाउनका लागि पाकिस्तान जाने तयारीमा छन् ।