ललिता निवास प्रकरण : आज अभियोग पत्र दर्ता गर्दै सरकारी वकिलको कार्यालय

काठमाडौं । ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आज अभियोग पत्र दर्ता गर्ने तयारी गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ताको तयारी गरेको हो ।

यसअघि सीआईबीले सरकारी लिखत कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेको थियो । असार १२ गते मीनबहादुर गुरुङसहित ४ जनालाई पक्राउ गरेपछि ललिता निवास प्रकरणमा प्रहरीले फेरि अनुसन्धानको फाइल खोलेको हो ।

यो प्रकरणमा २५० भन्दा बढी व्यक्ति प्रतिवादी बन्ने सीआईबीले राय दिएको थियो ।

ललिता निवासको १४२ रोपनी भन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा लिइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि १७५ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको छ ।