काठमाडौं महानगरद्धारा साढे ६५ करोड राजस्व संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको साउनमा ६५ करोड ४२ लाख ३० हजार तीन सय ७९ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष ०७९/८० को साउनमा महानगरेले ४५ करोड नौ लाख ८९ हजार राजस्व संकलन गरेको थियो  ।

आव ०७७र/८ देखि राजस्व संकलन दर क्रमशः बढ्दो क्रममा छ । आव ०७७/७८ को साउनमा २६ करोड ३९ लाख, आव ०७८/७९ को साउनमा ४३ करोड ५३ लाख राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ०७८/७९ को तुलनामा चालु आवको पहिलो महिनामा एक करोड ५६ लाख बढी राजस्व संकलन भएको छ ।

प्राप्त राजस्वमध्ये सबैभन्दा धेरै घरबहाल करबाट ३१ करोड ६० लाख संकलन भएको छ । यसपछि सम्पत्तिबाट १२ करोड ५८ लाख प्राप्त भएको छ । अन्य राजस्व शीर्षकहरूमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ शुल्क, सिफारिस दस्तुरलगायत छन् । यस्तै, प्रशासनिक दण्ड, जरिवाना र जफत, पर्यटन शुल्क, बेरुजुलगायत हुन् ।

राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार वडा सदस्यको नेतृत्वमा हरेक वडामा कर सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै राजस्व विभागले बेरुजु फस्र्योट तथा बक्यौता असुली अनुगमन गरिरहेको छ । कर परीक्षण कार्य पनि चलिरहेको छ ।