आज बढ्यो सेयर बजार

काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०९ अंकले बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २००९ अंकसम्म पुगेको थियो । त्यसपछिः नेप्सेको वृद्धि खुम्चिँदै परिसूचक ५ अंक बढेर १९९८ अंकमा पुगेर रोकिएको हो ।

०.२५ प्रतिशतले परिसूचक बढेपनि आज कारोबार रकम भने खुम्चिएको छ । आज नेप्सेमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको ३६ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ । परिसूचक सामान्य अंकले बढेपनि आज कारोबार भएका ९ समूहमा भने वृद्धि आएको छ । आज जलविद्युत १.८८, उत्पादनमूलक २.१५, लघुवित्त ०.२५ अंक र अन्य समूह ४.२५ अंकले घटेको छ ।

सबैभन्दा धेरै होटल र टुरिजम समूहमा ४५ अंकको सुधार आएको छ भने विकास बैंक समूहको २६ अंकले बढेको छ । यस्तै, जीवन बीमा समूह २४ अंक बढ्दा निर्जीवन बीमा समूह १४ अंकले बढेको छ । हिजो आइतबार नेप्से परिसूचक २० अंक घटेर १९९३ अंकमा आइपुगेको थियो ।

हिजो आइतबार नेप्सेमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यो आजको कारोबार मूल्यभन्दा २८ करोडले बढी हो ।