नेपाली क्रिकेट टोलीलाई शुभकामना दिँदै बालेनले भने : ‘अविश्वासिला जस्ता लाग्ने कौतुहलता आज केही समयमा पूरा हुँदै छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्धको खेलमा नेतृत्वमा रहेको नेपाल टोलीलाई बधाई दिएका छन् ।बुधबार सामाजिक सञ्जाल मार्फत् उनले एक बधाई सन्देश जारी गर्दै रोहित पौडेलको नेतृत्वमा रहेको नेपाल टोलीलाई जीतका लागि शुभकामना व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्  :

टिभीमा सोएब अख्तर, शाहीद अफरिदी, बाबर आजम, शाहीन अफरिदीहरुको खेल हेरेर रमाइन्थ्यो । विश्वकप विजेताहरुको देश र वरियतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सँधै रोमाञ्चकता दिन्थ्यो । सोचिन्थ्यो, नेपाली टोलीले पनि यीनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो ! अफरिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! सन्दिपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् ! यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधै मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ । नेपाली सबैलाई गर्व गर्ने ठाउमा पुर्याउने सम्पुर्ण टोलीलाई हार्दिक बधाइ अनि खेलको लागि सम्पुर्ण नेपालीलाई शुभकामना ।
जय नेपाल ।

एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो सवातीन बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।