बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

काठमाडौं । मोरङ केराबारीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार केराबारी गाउँपालिका-५ का ५० वर्षीय लोकबहादुर लिम्बूलाई मंगलबार राति पक्राउ गरिएको हो । बालिकालाई उनको घरमा बलात्कार गरेको भन्दै लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी परेको थियो ।

पीडित पक्षबाट जाहेरी परेपछि प्रहरीले उनलाई राति १० बजेतिर घरबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएका लिम्बूमाथि इन्सपेक्टर तेज दाहाल नेतृत्वको टोलीले अनुसन्धान अघि बढाउने छ ।

लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षणको तयारी गरेको छ ।