काठमाडौं । बडिमालिका क्षेत्रमा दुई जना तीर्थयात्रीको मृत्यु भएको छ । बाजुराको त्रिवेणी नगरपालिका– १ का २३ वर्षीय भरत बूढाको मंगलबार राति र कालिकोटको पलाँता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको सोमबार मृत्यु भएको हो । बडिमालिका जानेक्रममा बाटोमा बिरामी परेका न्यौपानेको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
बाजुरा जिल्ला प्रहरी प्रमुख डीएसपी कवीन्द्र बोहराका अनुसार अक्सिजनको कमीले बेहोस भएका बाजुरा त्रिवेणीका भरत बुढालाई सेनाको दुर्गाभञ्जन गुल्म बाजुराले सञ्चालन गरेको स्वास्थ्य क्याम्पमा उपचार प्रयास गर्दागर्दै मंगलबार राति मृत्यु भएको हो ।
कालिकोट पलाँताका न्यौपाने सोमबार त्रिवेणी क्षेत्रमा लडेर घाइते भएपछि सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुरुमा जिल्ला अस्पताल बाजुरा ल्याइएको थियो । मार्तडीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । उनको पनि उपचारका क्रममा सुर्खेतमै मृत्यु भएको खबर आएको डीएसपी बोहराले बताए ।
यस्तै, अक्सिजन कम भएर स्वास्थ्य समस्या भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहरोको सेनाको स्वास्थ्य क्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजाआजा हुने गर्दछ । यस अवसरमा सुदूरपश्चिमका बाजुरा, डोटी र कर्णालीका कालिकोट, जुम्लाबाट सरकारी पूजा टोलीसहित देशभरबाट हजारौंको संख्यामा भक्तजन बडिमालिका पुग्ने गर्छन् ।
Add Comment