अझै पक्राउ परेनन् बाल सुधार गृहबाट भागेका दुईजना किशोर

काठमाडौं । भक्तपुर बालसुधार गृह तोडफोड गरेर भागेका दुई जना अझै भेटिएका छैनन्।

फरार रहनेमा १७ वर्षीय रञ्जित राई र महम्जम हवारी छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

भागेका ५ जनामध्ये तीन जना प्रहरीको सम्पर्कमा आइसकेको डिएसपी पाठकले जानकारी दिए। तीमध्ये काभ्रे पुगेका २ जना र भारत पुगेका एकलाई परिवारसँग समन्वय गरी झिकाइएको उनले बताए।

भदौ ३ गते सुधारगृह तोडफोड गरी २५५ जना बालक भागेका थिए। तीमध्ये अधिकांशलाई चौबिस घन्टाभित्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

पुनः पक्राउ गरी ल्याइएकामध्ये ५७ जनालाई काठमाडौं बाहिरका सुधार गृह पठाइएको छ। बाहिरी जिल्ला पठाइएका सबै १८ वर्षभन्दा माथि छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्सा, १८ जनालाई मकवानपुर, सात जनालाई डोटी र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरिएको थियो।

सानोठिमीको सुधार गृहमा रहेकामध्ये एक सय ५४ जना जबर्जस्ती करणीमा, ५८ जना कर्तव्य ज्यानमा दोषी ठहर भएका थिए।

सुधार गृहमा रहेका बालक एवं १८ वर्षमाथिका किशोरहरू दुई समूहमा विभाजन भई ग्याङ बनाउने र आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्ने गर्न थालेपछि थप घटना हुन नदिन उनीहरूलाई अन्यत्र स्थानान्तरण गरेको बताइएको छ।