पहिरोका कारण केआईसिंह राजमार्ग १५ घण्टादेखि अवरुद्ध, एक जनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोले डडेल्धुरामा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।

गन्यापधुरा गाउँपालिका–२ को रडुवा खोलामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

हिजो करिब ७ बजे पछि उक्त सडक पहिरोका कारण अवरुद्ध भएको डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

पहिरोका कारण तराईबाट डोटी, बाजुरा र अछामका लागि छुटेका गाडीहरू डडेल्धुरामै रोकिएका छन् ।
डडेल्धुरामा पहिरोसँगै खसेको ढुङ्गा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ ।

केआईसिंह राजमार्गअन्तर्गत गन्यापधुरा गाउँपालिका–२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुङ्गा लागेर अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरी निरीक्षक नायकले बताए ।

डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुङ्गा लागेको थियो ।

गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक नायकले जानकारी दिए ।