सर्लाहीमा कर्फ्यु हट्यो, निषेधाज्ञा २७ गतेसम्म जारी

काठमाडौं । सर्लाहीको मलंगवामा शनिबार साँझदेखि जारी कर्फ्यु हटेपनि प्रशासनले तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ।

कष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा दुई पक्षबीच शुक्रबारदेखि उत्पन्न तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार साँझदेखि बिहान ८ बजेसम्म लागु हुनेगरी कर्फ्यु जारी गरेको थियो।

कर्फ्यु हटाइएपनि दुईपक्षबीच झडप हुनसक्ने सम्भावना भएकाले आज बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार मलंगवा नगरक्षेत्र, पूर्वमा भीम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट वा पेट्रोलपम्म सम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको‍ छ।

अहिले अवस्था सामान्य भएपनि ढुक्क हुने अवस्था नरहेको घिमिरेले बताए।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो। सोही विषयलाई लिएर शनिबार दिउँसो पनि झडप भएको थियो।

शनिबार दिउँसो प्रहरीले १३ सेल अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर गरेको थियो।

विवाद समाधान गर्न सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सामाजिक सद्भाव कायम गर्न अपिल गर्दा पनि आज बिहानैदेखि तोडफोड, आगजनी ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

निषेधित क्षेत्र तोकिएको स्थानमा भेला र सभा सम्मेलन गर्न पाइने छैन।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ।