सुन तस्करी प्रकरण : सुन तस्कर गर्नकै लागि खुलेका थिए यी ७ कम्पनी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विमानस्थलबाट अवैध रुपमा बरामद भएको ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार गरेपनि सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने भएको छ ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सहितको प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ । त्यसअघि अनुसन्धानबारे जानकारी दिन सीआईबीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सीआईबीका अनुसार सुन तस्करीकै लागि ७ वटा कम्पनी खोलेको पाइएको छ। सीआईबी प्रमुख बज्राचार्यका अनुसार तस्करी समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेको पाइएको बताएकी हुन्।

गिरोहले दीलिप भुजेलको नाममा बालुवाटारमा रहेको रेडी ट्रेड, कुमार भुजेलको नाममा सामाखुसीमा रहेको ह्वाडा इलेक्ट्रोनिक्स सप्लायर्स प्राइभेट लिमिटेड, रामकुमार भुजेलको नाममा चाबाहिलमा रहेको भुइजाल इन्टरप्राइजेज प्राइभेट लिमिटेड, सरिता तामाङको नाममा रहेको सरिता सप्लार्य, लेखनाथ कार्कीको नाममा बुढानिलकण्ठमा रहेको छुङगाक इलेक्ट्रिोनिक्स सप्लायर्स प्रालि, बिकुन्द्र भुजेलको नाममा लाजिम्पाटमा रहेको दोल्खा इलेक्ट्रोनिक्स सप्लायर्स कम्पनी दर्ता गरेको पाइएको छ।

त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको नपाइएको उनले बताइन। अन्य कम्पनीहरुले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यसरी ल्याइएका प्राय सबै समानहरुमामा सुन लुकाएर ल्याएको सीआईबीको आशंका छ ।

सुन तस्करीमा संलग्न रहेको रेडी ट्रेडले मात्रै साउन २ मा विमानस्थलको भन्सार जाँच पास भइसकेको अवस्थामा बरामद भएको ६० किलो सहित ३ सय ६२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।

अन्य कम्पनीबाट ल्याइएको इलेक्ट्रिक सामानमा लुकाएर ल्याइएको सुनबारे भने अनुसन्धान गर्न बाँकी रहेको उनले बताइन। उनी भन्छिन, ‘अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरेका छौं, अरु सुनको अनुसधान गर्न बाँकी छ ।‘

सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेर अनुसन्धान प्रतिवेदन तयार गरेको छ भने ५० जनालाई प्रतिवादी बनाएको छ।

ताजा अपडेट