एसएसबीले कागजपत्र मागेपछि एक युवक महाकालीमा हाम फालेर बेपत्ता

काठमाडौं। दार्चुला सदरमुकाम खलंगास्थित नेपाल(भारत जोड्ने झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका पुरुषबाट भारतीय प्रहरी एसएसबीले पहिचान खुल्ने कागज पत्र मागेको तथा उनको साथमा कुनै किसिमको पहिचान पत्र नभएको भन्दै उनलाई नेपाल फर्काएको बताइएको छ ।

एसएसबीले फर्काएपछि बीच पुलबाटै महाकाली नदीमा हाम फालेर उनी बेपत्ता भएको बताइएको छ । यद्यपि एसएसबीले फर्काएको विषयमा कुनै जानकारी नआएको तर हामफालेको घटनापछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

‘एसएसबीले फर्काएको विषय प्रहरीको जानकारीमा छैन, उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।’

नदीमा हाम फाल्ने पुरुषको परिचय र कारण खुल्न नसकेको र खोजी कार्य भइरहेको दार्चुला प्रहरीले बताएको छ । हाम फाल्ने पुरुष दार्चुला लास्कुक्षेत्रको भएको बुझिएको छ ।

नेपाल प्रेस