गैह्रीगाउँ सामूहिक हत्या : एकै जनाले गरेको खुल्यो, पक्राउ परेका व्यक्तिले अपराध स्वीकारे

काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रबार राति एकै जनाले चार जनाको हत्या गरेको खुलेको छ । आइतबार पक्राउ परेका आरोपीले धारिलो हतियार प्रहार गरी एक्लै चार जनाको हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ ।

घटनामा यसअघि पक्राउ परेका दीपेन्द्र राईको संलग्नताबारे प्रहरीले आधिकारिक जानकारी दिएको छैन । आइतबार पक्राउ परेका पुरुषको पनि नाम सार्वजनिक गरिएको छैन । उनलाई सीसीटीभी फुटेजका आधारमा आज बिहान पक्राउ गरिएको थियो ।

शुक्रबार राति ११ः५५ बजे गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

हत्या लगत्तै दीपेन्द्र ट्याक्सीमार्फत प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले उनलाई सोही बेलादेखि नियन्त्रणमा राखेको छ । हत्या गरिएका कुमार भुजेल सोही काठ मिलमा गेटपाले थिए ।

उनकी श्रीमती पनि मिलमै काम गर्थिन् । आमा भने श्रीमानको श्राद्ध गर्न २६ भदौमा काठमाडौं आएकी थिइन् । मोरङका नवीन सोही मिलमा काम गर्ने बताइए पनि उनको बारेमा थप विवरण बाहिर आएको छैन । दीपेन्द्र र नवीन काकाबडाउका छोरा भएको बताइएको छ ।