एमालेको बागमती प्रदेश अधिवेशन आजदेखि सुरु, अध्यक्षका लागि केन्द्रीय सदस्यहरुको दाबेदारी

काठमाडौं । एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गर्ने तयारी रहेको छ । काठमाडौंका भृकुटीमण्डपमा अधिवेशन हुँदैछ । बागमती प्रदेशको नेतृत्वका लागि एमालेका नेताहरूबीच निकै प्रतिस्पर्धा देखिएको छ । प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य नै दाबेदार देखिएका छन् ।

प्रदेश अध्यक्ष एमालेको पोलिटब्युरो सदस्यको हैसियतमा हुने व्यवस्था भएपछि केन्द्रीय सदस्यहरूले आकांक्षा राखेका हुन् । बागमती प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य सानु श्रेष्ठ, कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल र अहिलेका अध्यक्ष केशव पाण्डेले आकांक्षा राखेका छन् । त्यसो त, कृष्णभक्त पोखरेल पनि अध्यक्षको आकांक्षी रहेको बताइन्छ । तर, अहिले अध्यक्ष केपी ओली गुटगत संरचनाको विकास हुने भन्दै चुनाव हुन नदिने पक्षमा देखिएका छन् । तर, आकांक्षी भने चुनावी प्रतिस्पर्धामा जाने पक्षमा रहेका छन् ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच समूह बनेर प्रतिस्पर्धा भएको थियो । प्यानल नै बनेर लुम्बिनीमा गुटगत प्रतिस्पर्धा भएको थियो । बागमतीमा भने उक्त प्रतिस्पर्धा रोक्ने प्रयास भइरहेको छ । त्यसैका लागि सहमतिको प्रयास भइरहेको छ । बागमती प्रदेश अधिवेशनका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनौट भएका छन् ।

अधिवेशनका लागि काठमाडौंबाट १३२ जना काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना छनौट भएका छन् । त्यसैगरी, धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । साथै, जनसंगठनको तर्फबाट ९५ जना प्रतिनिधि छनौट भएको एमालेले जानकारी दिएको छ ।