विवाह समारोहमा आगलागी हुँदा बेहलाबेहुलीसहित कम्तीमा सय जनाको मृत्यु

काठमाडौं । उत्तरी इराकमा एक विवाह समारोहमा भएको आगलागीमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै १ सय ५० जना घाइते भएका इराकी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मारिनेमा बेहुलाबेहुली पनि छन् ।

यो दुर्घटना इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ भएको हो । आगलागीको कारण अझै खुल्न नसकेको तर पटाका पट्काएपछि आगलागी भएको प्रारम्भिक रिपोर्टमा बताइएको छ ।

इराकी समाचार एजेन्सी नीनाले दुर्घटनाको तस्वीर सार्वजनिक गरेको छ जसमा अग्नि नियन्त्रकहरू आगो निभाउने प्रयास गरिरहेका छन् ।

स्थानीय पत्रकारहरूले पनि विवाह समारोह हलको जलेको अवशेषको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

स्थानीय समय अनुसार राति करिब १०ः४५ बजे उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्, त्यतिबेला सयौँ मानिस हलमा रमाउँदै थिए ।