मणिपाल अस्पताल तोडफोड गर्ने थप एकजना पक्राउ

काठमाडौं। गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी सुकमाया दुराको मृत्युपछि चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सुकमायाको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका कार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन् ।

कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाका अनुसार भीडबाट तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजीमा छन् ।

गत ८ गते चिकित्सकको लापरबाहीले सुकमायाको मृत्यु भएको भन्दै आफन्तका तर्फबाट डाक्टर अनिल शाहमाथि हातपात भएको थियो । डाक्टर कुटिएको विषयले देशैभरि आन्दोलन भएको थियो ।

८ गते नै डाक्टर कुटेको आरोपमा २७ वर्षीय विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । चिकित्सकका तर्फबाट पनि डा। दिनेशलाई पक्राउ गरेर एक दिन हिरासतमा राखेर छोडेपछि आफन्तले झनै आन्दोलन चर्काएका थिए ।

मणिपाल प्रकरणमा माओवादी निकट चिकित्सक संगठनका नेता डा. दिनेश विकसमेत पक्राउ परेपछि स्वास्थ्यकर्मीले आन्दोलन झनै चर्को पारेका थिए । डाक्टरमाथि एकपछि अर्को आक्रमणका घटना भएको भन्दै चिकित्सकहरुले देशैभरि आन्दोलन गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले डाक्टर कुट्ने र तोडफोड गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता नै जनाएका थिए ।

अस्पताल प्रशासन र डाक्टरबीच ६ बुँदे सहमति भएपछि आन्दोलन मत्थर भएको थियो । तर, सहमति पछि पनि अस्पताल तोडफोड गर्ने १२ असोजमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको थियो । सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरी प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनविपरीत काम गरेको कसुरमा मुद्दा अगाडि बढाएको छ ।

सहमति भइसकेको भनिएको मणिपाल प्रकरणमा प्रहरीले फेरि पक्राउ गरेको भन्दै आफन्तले सुकमायाको शवसमेत बुझेका थिएनन् । अस्पताल र आफन्तबीच सहमति भएको तर प्रहरीले तोडफोडमा उत्रिएकालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको एसपी थापाले बताए ।

मृतकका आफन्तले पक्राउ परेका व्यक्तिको रिहाइ गर्न माग गर्दै शव नउठाएकोमा छिटोभन्दा छिटो सहजीकरण गरिदिने सर्तमा मंगलबार बिहान (आज) शव उठाइएको छ ।

आफन्तले ८ दिनपछि अस्पतालमा शव उठाएको एसपी थापाले जानकारी दिए । प्रहरीले स्वास्थ्य संस्था सम्बन्धी ऐनअनुसारै पक्राउ परेका व्यक्तिको कानुनी प्रक्रिया अगाडि बढाउने थापाको भनाइ थियो ।