वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु महतो घुस लिँदा लिदै पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग बबरमहलका नायव सुब्बा शिव शंकर महतोलाई घुस लिँदा लिँदै पक्राउ गरेको छ ।

सेवाग्राहीसँग फर्मको दर्ता प्रमाणपत्र सम्वन्धि काम मिलाईदिने भन्दै सुब्बा महतोले घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले महतोलाई नगद दश हजार घुस सहित नियन्त्रणमा लिएको हो ।

अख्तियारले नियन्त्रणमा लिए पश्चातको अनुसन्धानका सिलसिलामा नासु महतोले सेवाग्राहीलाई फर्म दर्ता गर्ने क्रममा विभिन्न बहाना बनाई ढिलासुस्ती गरी घुस रकम दिएमा चाँडै काम सम्पन्न गरिदिने भन्दै घुस माग गरेको पुष्टि भएको छ ।

रंगेहात पक्राउ परेका नायव सुब्बा महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय मागदावी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।