सिक्किममा बाढीका कारण तीनजनाको मृत्यु, १५ हजार भन्दा बढी मानिस प्रभावित

काठमाडौं । भारतको सिक्किम राज्यमा बुधबार बिहान आएको बाढीका कारण तीनजनाको मृत्यु भएको छ । बाढीबाट १५ हजारभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ ।

सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसएसडीएमए) ले उद्धार र राहतका क्रममा सिङ्तामबाट तीनजनाको शव फेला परेको जनाएको छ ।

उत्तर सिक्किमको लोनाक ताल माथिबाट आएको बाढीले टिस्टा नदीको सतह बढाएसँगै ठूलो क्षति भएको हो ।

यस्तै, चुङ्थाङ बाँधको पानीसमेत निस्किएपछि सैन्य क्याम्प, सवारी साधन र २३ सैनिकलाई बगाएको हो ।

बाढीले सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बगाएको बताइएको छ ।

सिक्किमलाई पश्चिम बंगाल राज्यसँग जोड्ने मुख्य राजमार्ग समेत बगेको छ ।

सिक्किमका मुख्य सचिव भीएस पाठकले बाढीका कारण करिब १५ हजार मानिस प्रभावित भएको र टिस्टा नदीको किनारमा रहेका कम्तीमा पनि आठ वटा ठूला पुल बगाएको बताएका छन् ।

तल्लो क्षेत्रका सबै प्रहरी चौकीलाई त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा लैजान भनिएको बताइएको छ ।