अस्पतालबाट फर्केर फेरि अनशन बसिन् भारती

काठमाडौं । बेहोस भएर हिजो सर्वोच्च परिसरमै ढलेपछि उपचारका लागि वीर अस्पताल लगिएकी भारती मानन्धर आज पुन माइतीघरमा अनशन बसेकी छन् । वीर अस्पतालमा उपचारपश्चात उनी आज फेरि अनशन बसेकी हुन् ।

सरकारले आफ्ना श्रीमान्‌का हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा उनले हिजोदेखि अनशन सुरु गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल ९रिगल०को बाँकी सजाय मिनाह गरेका थिए ।

रिगलले भारतीका श्रीमान चेतन मानन्धरलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा प्रहार गरी हत्या गरेका थिए । यो मुद्दामा अदालतले रिगलविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

उनी करिब ५ वर्ष जेल बसेर माफी पाई थुनामुक्त भएका छन् । राष्ट्रपतिबाट सजाय मिनाहा भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका उनी लावालस्करसहित नेपालगञ्ज आएका थिए । उनलाई माफी दिने सरकारको सिफरिसको चौतर्फी विरोध भइरहेको छ ।