काठमाडौं । दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
मङ्गलवार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उनको भनाइ छ । अहिले पनि दुईतर्फी सञ्चालनका लागि मेसिन प्रयोग गरेर काम गरिरहेको केसीले जानकारी दिए । आज दिउँसोसम्म पूर्णरुपमा सञ्चालनमा आउने उनको भनाइ छ ।
सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लाग्न थालेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी साधन पनि सडकमा रोकिएका थिए । यता पहिरोले अवरुद्ध बनेको कालिगण्डकी कोरिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन ।
मङ्गलवार कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्णरुपमा ठप्प भएको थियो ।
अहिले बागलुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिए ।
Add Comment