भन्सार छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार भन्सार छली ल्याइएको चिनी,सखरसहित पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।

सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका -११ रामजानकी पार्टी प्यालेस अगाडि शंकास्पद अवस्थामा राखिएको स.१.ज.१४७८ नम्बरको पिकअप भ्यान चेकजाँचका क्रममा ३३ बोरा चिनी र १० केजी सखर बरामद गरेको हो ।

कार्यालयका सूचना अधिकारी हरिनन्दन चौधरीका अनुसार एक लाख २४ हजार २५० मुल्य बराबरको उक्त सामग्री त्रिनपा ११ का ३५ वर्षीय रंजित चौधरीले भन्सार छली सदरमुकाम भित्र्याएको अवस्थामा बरामद भएको हो ।

पक्राउ परेको पिकअप भ्यान,सामान र चालकलाई आवश्यक अनुसन्धानपछि थप कारवाहीका लागि सेतुबन्दु भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाएको उनले बताए ।