जलनका विषयमा पहिलो पटक कार्यमूलक अनुसन्धान

काठमाडौं । सगुन– सामाजिक अध्ययन तथा विकास केन्द्रले नेपालमा पहिलो पटक जलनका विषयमा कार्यमूलक अनुसन्धान गरेको छ । आगो वा अन्य किसिमबाट हुने जलनका कारण अदृश्य रुपमा धेरै व्यक्तिका ज्यान गएको मात्र होइन अंगभंग समेत हुने गरेको छ । तर नेपालमा जलनको अवस्थामा बारेमा अनुसन्धान नभईरहेका बेला तीन वर्ष लगाएर  सगुनले गरेको कार्यमूलक अनुसन्धानको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

सगुनले हिमाली क्षेत्रका रुपमा रसुवा, पहाडी क्षेत्रका रुपमा मकवानपुरको इन्द्रसरोबर गाउँपालिका र तराई क्षेत्रका रुपमा धनुषामा गरेको अध्ययनले आगो, विद्युत वा रसिड लगायतबाट हुने जलन अत्यन्तै पीडादायी हुने गरेको देखिएपनि यसबाट जोखिन वा न्यूनिकरण गर्नका लागि आम नागरिकलाई जलनका विषयमा जानकारी नभएको पाईएको छ ।

अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै अनुन्धानकर्ता एवं सगुनका सचिव डा कमल फुँयालले जलन भएका व्यक्तिहरु अस्पताल वा स्वास्थ्य चौकीसम्म नपुग्ने गरेको अध्ययनले देखाएको बताउनु भएको छ । उहाँले जलनबाट भएको क्षति वा मृत्युको सहि तथ्यांक पाउन मुश्किल रहेको बताउनु हुँदै जलनको प्राथमिक उपचारको सेवा समुदाय तहमा नै उपलब्ध गराउन सके जलनबाट हुने ठूलो क्षति कम गर्न सकिने बताउनु भयो ।

प्रतिवेदन सार्वजनक कार्यक्रममा प्लाष्टिक सर्जन डा जसवन शाक्यले जो जहाँ भएपनि शरीरमा जलन भएका वा पोलेमा पोलेको भागलाई तत्काल चिसो बनाउनु पर्ने बताउनु भयो । पोलेको भागलाई निरन्तर बगेको पानी सम्भव भएसम्म धाराको पानीले चिसो बनाउन सके जलनलाई गहिराईसम्म जानबाट रोक्न सकिने बताउनु भयो । आम नागरिकले पोलेको भागलाई तत्काल फुक्ने चलन रहेका सो कार्य निकै खतरा भएकाले पोलेको ठाउँमा फुक्न नहुने समेत बताउनु भयो ।

सोही कार्यक्रममा बोल्नु हुँदै सुष्मा कोइराला मेमोरियल अस्पतालकी सर्जन डा रोजिना शिल्पकारले जलन हुनासाथ पोलेको २० देखि ३० मिनेटसम्म निरन्तर पानीको प्रयोग गर्नु पर्ने बताउनु भयो ।

जलनका विषयमा अनुसन्धान गरिएको क्षेत्र मकवानपुरको इन्द्र सरोबार गाउँपालिकाका अध्यक्ष जीवन लामाले अनुसन्धान कै क्रममा जलन भन्ने थाहा नपाएकाहरुले त्यसका बारेमा जानकारी पाउनुका साथै जलनबाट बच्ने र जलन भईहालेमा गर्नु पर्ने उपचार विधि समेत हासिल गरेका बताउनु भयो ।

उहाँले स्वास्थ्यका अन्य क्षेत्रजस्तै जलनलाई पनि सरकारले प्राथमिकतामा राख्नु पर्ने बताउनु हुँदै इन्द्रसरोबर गाउँपालिकाले बजेट नै विनियोजन गरेको जानकारी दिनु भयो । त्यस्तै लक्ष्मीनियाँ गाउँपालिका धुनषाकी उपाध्यक्ष इन्द्रकला यादवले जलन रोग नभएर दूर्घटना भएको बताउँदै यसको तत्काल उपचार नभएकाले समस्या पर्दै गएको र धुनषामा जलनकै कारण धेरै व्यक्तिहरुको ज्यान गएको बताउनु भयो ।

कार्यक्रममा रसिड प्रभावित जेनी खड्काले आफूलाई रसिड प्रहार भएपछि भोग्नु परेको शारीरिक, मानसिक र सामाजिक पीडाको अनुभव राख्नु भएको थियो ।