राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

काठमाडौं । राष्ट्रियसभाले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्न १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समिति सदस्यहरुमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहेका छन् ।

त्यसैगरी, भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा, मोहम्मद खालिद, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा रहेका छन् ।

मस्यौदा समितिले राष्ट्रियसभा र समितिमा सुव्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रियसभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखापरेको कठिनाइ पहिचान गरी नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेस गर्नेछ ।

समितिले सदस्यहरूमध्येबाट एक जना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ । सो मस्यौदा समितिलाई १४ पुससम्मको समय दिइएको छ । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९-८० पेस गरेकी थिइन् ।