कानुन समितिको निर्देशन : मानव अधिकार आयोगको स्तर घट्न नदिन सरकारले यथाशीघ्र पहलकदमी गर्नु

फाईल तस्बिर

काठमाडौं ।  कानुन, न्याय तथा मानव अधिकार समितिले राष्ट्रिय मानव अधिकार आयोगलाई सुम्पिएको जिम्मेवारी एवं आयोगका काम कारबाहीलाई प्रभावकारी बनाउन पर्याप्त साधन स्रोतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिका तर्फबाट सरकारलाई निर्देशन दिँदै समिति सभापति विमला सुवेदीले राष्ट्रिय मानव अधिकार ऐन, २०६८ लाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारलाई निर्देशन दिइन् ।

उनले यसको सुधारको प्रक्रिया अघि बढाउन र राष्ट्रिय मानव अधिकार आयोगको स्तर घट्न नदिन सरकारका तर्फबाट गरिनुपर्ने पहलकदमी यथाशीघ्र गर्न पनि निर्देशन दिइन् ।