हमासको दाबी : हामीले अपहरण गरेका १३ जना नागरिक इजरायलकै आक्रमणबाट मारिए

काठमाडौं । हमासले गत शनिबार इजरायलमा पाँच हजार रकेट आक्रमण गर्‍यो । हमासका लडाकुहरूले इजरायलका ७ देखि ८ स्थानमै घुसेर सयौँ मानिसको हत्या गरिदिए ।

उनीहरूले १५० जना व्यक्तिलाई इजरायलबाट अपहरण गरेर बन्दी समेत बनाए । यतिबेला हमासले अपहरण गरेर गाजा पट्टीमा बन्दी बनाएका १५० जना मानिसलाई छुटाउने प्रयास जारी छ ।

इजरायलका ऊर्जामन्त्री इसराइल काट्जले अपहरणमा परेका मानिसहरू नछाडेसम्म गाजामा जारी घेराबन्दी नखुल्ने बताएका छन् । इजरायलले यतिबेला गाजा क्षेत्र पूर्ण रूपमा घेरेर त्यहाँ पानी, बिजुली, खाद्यवस्तुको आपूर्ति रोकिदिएको छ ।

इजरायलबाट अपहरणमा परेका इजरायलीसँगै कैयौँ विदेशी नागरिक हमासको कब्जामा छन् । बीबीसीका अनुसार कतार, इजिप्टलगायत अन्य देशले हमाससँग अपरहणमा परेका मानिसहरू छुटाउने छलफल गरिरहेका छन् ।

हमासले बन्दी भएका महिला र बालबच्चाहरू छाडे इजरायलको हिरासतमा रहेका ३६ प्यालेस्टाइनी महिला र बच्चाहरू छाडिने विषयमा छलफल चलिरहेको बताइएको छ । पुरुष बन्दीहरू छाड्ने विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन ।

हमासले गाजा क्षेत्रमा हवाई आक्रमण भए अपहरणमा परेका सबै मानिसहरूलाई हरेक आक्रमणपछि क्रमैसँग हत्या गरिदिने धम्की दिइसकेको छ । यस्तोमा यतिबेला हमासले दाबी गरेको छ, जसले अपहरणमा परेका मानिसहरूको ज्यान निकै जोखिममा रहेको स्पष्ट हुन्छ । हमासले शुक्रबार इजरायलको हवाई आक्रमणमा १३ बन्दीहरू मारिएको बताएको छ । इजरायलबाट अपहरणमा परेका मानिसहरु इजरायलकै हवाई आक्रमणले मारिएको हमासको दाबी छ ।

हालै इजरायलका युद्धक विमानले पाँच स्थानमा हवाई आक्रमण गर्दा इजरायलीसँगै केही विदेशीसहित १३ बन्दीको मृत्यु भएको हमासको भनाइ छ । -बीबीसी