पार्टीविरुद्ध निरन्तर प्रहार बढ्न थाल्यो, भइहाल्छ हटिहाल्छ भनेर हुँदैन : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीविरुद्ध निरन्तर प्रहार बढिरहेकाले वैचारिक प्रतिवादन गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनले पार्टीबारे भइरहेको गलत प्रचारबारे सार्वजनिकस्थलमा हुने छलफलमा वैचारिक प्रतिवाद गर्नुपर्ने बताए ।

“पार्टीको बारेमा गलत शैलीको प्रचार भइरहकेो छ । त्यसलाई चिर्न हरेक कार्यक्रममा आफ्नो कुरा राखेर समाजमा राजनीतिक दल वा चार्जलाई क्लियर गर्नुपर्छ, त्यसमा पनि ख्याल गर्नुपर्छ । भइहाल्छ हटिहाल्छ भनेर हुँदैन,” उनले भने, “चिया पसलमा, बसमा हुने छलफलमा हरेक कुरा आउँछ, हामीले त्यहाँ पनि बहसमा उत्रिएर लाग्नुपर्छ ।”

उनले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न पदमा बसेका नेताहरूबीच समन्वय हुन नसकेको बताए । संघर्ष र बलिदानबाट आएको शासन व्यवस्था जोगाउन यस्तो विषयले असर गर्ने धारणा उनको थियो ।

“पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी अर्गनाइजेसनभित्र रहेका नेताहरूबीच समन्वय अभाव छ । यसमा अलिकति आफू सक्रिय हुनुपरेको देखेको छु । जनताबाट निर्वाचित वडाध्यक्ष, सदस्य किन नहोस् यो हरेक ठाउँमा पार्टी संगठन र जनप्रतिनिधिबीच समन्वय अभाव छ,” उनले भने, “त्यत्रो संघर्षबाट ल्याएको लोकतान्त्रिक ट्रयाकमा लान अधिकार सुरक्षित गर्न र स्थायित्व दिन चुक्नु हुँदैन ।”

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका सिंहले संगठन बिग्रियो भनेर नेतालाई गालीमात्र गर्ने छुट नभएको बताए । उनले पार्टीको प्रत्येक नेताले आफूले पाएको अधिकार र अवसको सदुपयोग गरेमात्र पार्टी सुधार हुने धारणा राखे ।

“जसले जहाँ जिम्मेवारी भएको छ, त्यसलाई इमान्दार भएर बहन गरौँ । प्राप्त गरेको अधिकार सदुपयोग गरेर कार्यान्वनय नगर्ने । कमिकमजोरी आफूमाथिका नेताको टाउकोमा राख्ने । सुधारका लागि टोल समितिको सभापति वडा बुथसम्म सभापति छ । ग्रासरुटदेखि जे जिम्मेवरी छ, त्यो गरे परिवर्तन आउँछ,” सिंहले भने ।