मुख्यमन्त्रीमा कार्कीलाई नियुक्तिका लागि दबाब दिन एमाले र कांग्रेसका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालयमा

काठमाडौं । मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई नियुक्त गर्न एमाले र कांग्रेस नेता शेखर कोइराला समूहका सांसदहरूले दबाब दिने भएका छन् । त्यसका लागि एमालेका ३९ र कांग्रेसको कोइराला समूहका ८ सांसद प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका छन् ।

कांग्रेसका कार्कीले एमाले र कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित बिहीबार साँझ मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । एमाले र कांग्रेसका ८ सांसदहरूले कार्कीलाई तत्काल मुख्यमन्त्रीमा नियुकत गर्नुपर्ने माग पनि गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दिएको समयसीमा अहिले पाँच बजेबाट सकिँदैछ ।

त्यसैले कार्कीलाई मुख्यमन्त्रीमा तत्काल नियुक्त गर्न प्रदेश प्रमुख खापुङमाथि दबाब बढाउन एमालेका ३९ र कांग्रेसका ८ सांसद सशरीर उपस्थित भएका हुन् । एक सांसदका अनुसार एमाले र कांग्रेसको कोइराला समूहका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

केदार कार्कीका अनुसर एमालेका ३९ र कांग्रेसका ८ जना सांसद उपस्थित हुने क्रम छ । प्रदेश प्रमुखलाई संख्या गणना गर्न लगाउने तयारी एमाले र कांग्रेसको कोइराला समूहका सांसदहरू छन् । ‘हामी हात उठाउन तयार भएर आएका हौँ, प्रदेश प्रमुखले गणना गर्नुहुन्छ होला,’ उनले भने ।

सत्ता गठबन्धनका तर्फबाट भने मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । आङ्बोलाई सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन छ । तर, कांग्रेसका कार्कीसहित ८ सांसदले भने आफूहरूको पुरानो हस्ताक्षर प्रयोग गरेर आङ्बोले दाबी पेस गरेकाले मान्यता नदिन प्रदेश प्रमुख खापुङसमक्ष बिहीबार नै निवेदन दिइसकेका छन् । उनीहरूले मुख्यमन्त्रीमा आङ्बोलाई आफूहरूले समर्थन नगरेको बताएका छन् ।

मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयसीमा सकिएपछि प्रदेश प्रमुख खापुङ भने अहिले कानुनी परामर्शमा छन् । कार्यकक्षभित्र बसेर खापुङले प्रदेश प्रमुखको कार्यालयकै कर्मचारीसँग छलफल गरिरहेका छन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार छलफल मुख्यतस् सर्वोच्च अदालतले गरेको व्याख्यामा केन्द्रित छ । कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्न ४७ सांसदको समर्थन आवश्यक पर्छ।