एसीसी यू–१९ प्रिमियर कप : बहराइनले नेपाललाई दियो ७८ रनको लक्ष्य

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रन बनायर अलआउट भयो ।

उसका लागि मोहम्मद बासिल अब्दुल हाकिमलले ३४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बहराइनलाई सस्तैमा समेट्नेक्रममा स्पिनर दीपेश कँडेलले ९.५ ओभरमा ८ मेडन राख्दै ४ रन दिएर ६ विकेट लिए ।

यस्तै, तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा एक मेडन राख्दै २२ रन दिएर ४ विकेट लिए ।

नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । बहराइन पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा साउदी अरेबियाविरुद्ध पराजित भएको थियो ।

समूह चरणका तीनै खेल जितेर नकआउट चरणमा पुग्ने र उपाधि उचाल्ने नेपालको लक्ष्य छ । समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा इरान, बहराइनका साथै साउदी अरेबियासँग खेल्ने तालिका छ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् ।

फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरी तीन टिम एसिया कप खेल्नेछन् । भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने यू–१९ एसिया कपमा सोझै छनोट भइसकेका छन् । यू–१९ विश्वकप अघि एसिया कप हुन लागेको हो ।

विश्वकप २०२४ को जनवरीमा श्रीलंकामा हुनेछ । विश्वकपमा नेपालले समूह चरणमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानको सामना गर्नेछ ।