रोनाल्डोको गोल गरेपछि हर्जेगोभिनाविरुद्ध पोर्चुगलको फराकिलो जित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलमा पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा हर्जेगोभिनालाई फराकिलो अन्तरले हराएको छ।

सोमबार राति भएको खेलमा पोर्चुगलले हर्जेगोभिनालाई ५–० को फराकिलो अन्तरले पाखा लगाएको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेजले समान १र१ गोल गरे।

पोर्चुगलले सबै गोल पहिलो हाफमा गरेको हो। खेलको पाचौं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

उनले नै २०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा अग्रता दोब्बर पारे। ३८ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि १ सय २७औं गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

त्यसको ५ मिनेटपछि नै फर्नान्डेजको गोलमा पोर्चुगलले ३–० को अग्रता लियो।

एकपक्षीय खेलको ३२औं मिनेटमा क्यान्सोलेले टोलीका लागि चौथो गोल गरे। ४१औं मिनेटमा फेलिक्सको गोलमा पोर्चुगलले पहिलो हाफमा नै ५–० को फराकिलो अग्रता बनाएको थियो।

युरो कपमा स्थान बनाइसकेको पोर्चुगलले ८ खेलमा २४ अंक बनाउँदै समूह जेको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको स्लोभाकियाको समान खेलबाट १६ अंक छ।

गएराति नै सोही समूहमा भएको अर्को खेलमा आइसल्यान्डले लिकटेन्स्टाइनलाई ४–० हराएको छ। अर्को खेलमा स्लोभाकियाले लक्जेम्वर्ग लाई १–० ले पाखा लगायो।