नाम मात्रैको सहुलियत पसल, किन्न जाँदा छैन चिनी

काठमाडौं । पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो ।

‘उपभोक्तालाई लक्षित गरी काठमाडौंमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ तर यहाँ चामल, नुन, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ, मलाई चिनी चाहिएको हो’, क्षत्रीले भने, ‘बजारमा चिनी खरिद गर्दा व्यापारीले प्रतिकेजी एक सय ३० लिने गरेका छन् ।’

बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि सर्वसाधारणको दैनिकी कष्टकर हुँदै आएको उनको भनाइ छ । सहुलियत दरमा खाद्यवस्तुको बिक्री गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखरा र साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनी लिमिटेड पोखराको बिक्री केन्द्रले यसवर्ष चिनी नभएका कारण बिक्री गरिएको छैन । ‘सरकारले काठमाडौं बाहिरका जिल्लामा पनि चिनी बिक्री केन्द्र राखेको भए आम उपभोक्ताले सहुलियत दरमा चिनी किन्न पाउने थिए, किन त्यसो नगरेको होला’, क्षत्रीले प्रश्न गरे ।

साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दसैँमा चिनी आयात हुन नसकेको र दसैँपछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए ।

‘दसैँमा उपभोक्तालाई सहुलियत दरमा चामल, तोरीको खाने तेल, नुहाउने साबुन र नून सहुलियत दरका दिएका छौँ’, उनले भने, ‘सधैँ झैँ यसवर्ष पनि साल्ट ट्रेडिङको कार्यालय पृथ्वीचोकबाट उपभोग्य सामान बिक्री भइरहेका छन् ।’

प्रमुख उपाध्यायका अनुसार साल्ट ट्रेडिङले २५ केजी तौल भएको जिरा मसिनो चामलको बोरालाई बजार भाउभन्दा ५ सय सस्तोमा २ हजार एक सयमा बिक्री गरिएको छ । त्यस्तै २५ केजीको सोना चामल प्रतिबोरामा २ सय ५० छुट गरी १ हजार सात सय ५० मा बिक्री गरिएको छ । त्यस्तै नुनमा २ रुपैयाँ सहुलियत दिइएको छ भने सन्तुर साबुनमा १० र बजार भाउ ४२५ रहेको शान्ति तोरीको तेल प्रतिलिटर ३७० मा बिक्री गरिएको छ ।
रासस