मुख्यमन्त्री कार्कीको कदम गलत हो, विश्वासको मत भने दिन्छौँ : राजेन्द्र राई

काठमाडौं । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले एमालेसँग गठबन्धन गरेर कांग्रेसका केदार कार्की मुख्यमन्त्री बन्ने कदम गलत भएको बताएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा बोल्दै नेकपा एसका संसदीय दलका नेता राईले मुख्यमन्त्री कार्कीले दलीय सहमति तोडेको आरोप लगाएका हुन् । कांग्रेसका ८ सांसदलाई विद्रोह गर्न लगाएर एमालेसँग मिलेको भन्दै राईले मुख्यमन्त्री कार्कीको आलोचना गरे ।

दलीय व्यवस्थाविरुद्ध र गठबन्धनलाई धोका दिएर बनाएको सरकार भएका कारण सिद्धान्ततः कार्कीलाई विश्वासको मत दिन नमिल्ने राईले बताए ।

सरकार गठनमा आधारभूत विमति भए पनि प्रदेशसभालाई विघटन रोकेर मध्यावधि निर्वाचनलाई रोक्ने जनताको चाहना र केन्द्रीय गठबन्धनको निर्णय अनुसार शंकाको सुविधासहित कार्कीलाई विश्वासको मत भने दिने राईले बताए ।