एनआरएनए अध्यक्षमा बद्री केसी विजयी, नतिजा गोलमाल गरेको प्रत्यासीहरुको आरोप

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।

अध्यक्ष निर्वाचित भएसँगै केसीका समर्थकहरुले होटल सोल्टी परिसरमा खुसीयाली मनाएका छन् । नयाँ नेतृत्व चयनका लागि बिहीबार बुधबार मध्यरातिदेखि बिहीबार मध्यरातीसम्म विश्वभरका गैरआवासीय नेपाली प्रतिनिधिहरुले अनलाइनमार्फत भोटिङ गरेका थिए भने काठमाडौम भेला भएका एनआरएनएहरुले सोल्टीबाटै बिहीबार दिनभर भोटिङ गरेका थिए ।

निर्वाचनमा तीन जनै उम्मेदवार प्यानलसहित खडा भएका थिए ।

यसैवीच, केसी विजयी भएको घोषणासँगै तनाव भएको छ । पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन्।

भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।