कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ स्याउले बजारबाट पवन धामी, कुश कार्की र सन्तोष सार्कीसहित दुई जना गरी चार जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

दोधारा चाँदनी नगरपालिका २ का २१ वर्षीय पवन धामी र भीमदत्त नगरपालिका १० गड्डाचौकी बस्ने २३ वर्षीय कुश कार्कीलाई १।०७ ग्राम लागूऔषधसहित बिहीबार प्रहरीले पक्राउ गरेको हो । यसै गरी दोधारा चाँदनी नगरपालिका–२ का १९ वर्षीय सन्तोष सार्कीसहित दुई जनालाई ०।१० मिलिग्राम लागूऔषधसहित बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला पारी मोटरसाइकल २ थानसहित चार जनालाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीले जनाएको छ ।