काठमाण्डौबाट घर फर्कनेको घुइँचो

काठमाण्डाै । काठमाण्डौ उपत्यकाबाट गाउँ घर फर्कनेको भिड बढेको छ । हिजोअस्तिको तुलनामा आज घर फर्कनेको भिड झन् धेरै छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको घुइँचो लागेको छ ।

आज शुक्रवार भएको र भोलि शनिवारसँगै फूलपाती पनि परेकाले सरकारी कार्यालय तथा अन्य रोजगार क्षेत्रहरूसमेत बन्द हुने भएकाले धेरैजसो आज र भोलि घर फर्कँदै छन् । पछिल्ला दुई तीनयता उपत्यकाबाट दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रु बाहिरिएका काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नागढुङ्गा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट उपत्यका छाड्नेहरूको दैनिक चाप बढ्ने गरेको छ । हिजो र अस्ति दुई लाख हाराहारीले काठमाण्डाै छाडेको तथ्याङ्क छ । घर जानेहरूको सङ्ख्या बढ्न थालेकाले उपत्यका बाहिरिने नाका तथा सडक खण्डमा यात्रु र गाडीको चाप बढेको छ ।

दशैँका लागि  गाउँ घर जाने यात्रुले मुस्किलले टिकट पाएका छन् भने सडकको अवस्थाका कारण यात्रा पनि कष्टकर बनेको छ । गाडीको चापका कारण जाम हुने समस्या एकातिर छ भने अर्कातिर खाल्डाखुल्डी र बिग्रिएका सडकका कारण यात्रा निकै कष्टकर बनेको यात्रुको गुनासो छ ।