एनआरएनएको विवाद : साइबर क्राइमसम्म पुग्यो निवेदन, निर्वाचनलाई मान्यता नदिन परराष्ट्रको परिपत्र

काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ । कात्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । उक्त नतिजाअनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएका थिए । यससँगै उनका प्रतिस्पर्धीले चुनावी प्रक्रियामाथि नै प्रश्न उठाएका हुन् ।

केसीसँग अध्यक्षमा आरके शर्मा र महेश श्रेष्ठ प्रतिस्पर्धामा थिए । एनआरएनएको चुनावमा राजनीतिकरण पनि देखिएको छ । केसी एमालेनिकट मानिन्छन् भने शर्मा माओवादी केन्द्रनिकट मानिन्छन् । उनलाई कांग्रेसको एउटा पक्षले समर्थन गरेको थियो । उता श्रेष्ठ भने कांग्रेसनिकट मानिन्छन् ।

केसी एक वर्षदेखि एनआरएनएको अध्यक्ष थिए । अघिल्लो अधिवेशनमा कुल आचार्य, रविना थापा र केसीले कार्यकाल बाँडफाँट गरेका थिए । त्यतिबेला विवाद भएपछि पूर्वअध्यक्ष शेष घलेले छुट्टै संघ बनाएका थिए ।

अहिले चुनाव जितेका भनिएका केसी सँगै सुरुमा अध्यक्ष रहीसकेकी थापा पनि अध्यक्षको दाबीमा थिइन् । तर, अन्तिम समयमा उनले श्रेष्ठलाई अध्यक्षमा समर्थन गरेर उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

अहिलेको नतिजाअनुसार केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ । महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदी निर्वाचन अपेक्षा गरेअनुसारको नभएकाले चुनावको परिणाम स्वीकार्न नसकिने बताउँछन् ।

भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्ट्रेलियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको सुवेदीको तर्क छ । अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको उनले दाबी गरे ।

यो नतिजाले ८० लाख गैरआवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको सुवेदीको भनाइ छ । उनले उपाध्यक्षका उम्मेदवार डा। केशव पौडेलको मत नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने दाबी गरे ।

साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको सुवेदीको भनाइ छ । उनले परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उल्लेख गरे ।

क्बनबचmबतजब ऋझभलतपभथकतयलभनयिदबलिभतधयचप
उता निर्वाचित उपाध्यक्ष हेमराज शर्मा भने अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताउँछन् । उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु समस्याको जड रहेको बताए ।

शून्य नहुनुपर्ने भए पनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटी भएको हुनसक्ने उनको भनाइ छ । भेरो आएर यथार्थलाई भनिदिनुपर्ने शर्माको भनाइ छ । पुनः गणना गर्नुपरे पनि आफूहरू तयार रहेको उनको भनाइ छ ।

पछिल्लो समय गैरआवासीय नेपाली संघमा तीव्र राजनीतीकरण हुँदै गएको छ । प्रमुख राजनीतिक दलका निर्णयका आधारमा एनआरएनएको परिणाम प्रभावित हुँदै आएको छ । यसपटक पनि कांग्रेस, एमाले र माओवादी केन्द्र तीनै दल समर्थित उम्मेदवारहरू एनआरएनएको चुनावी मैदानमा थिए ।