वायुसेवा निगमले तीनवटा नयाँ ट्वीनअटर जहाज खरिद गर्न गर्‍यो बोलपत्र आह्वान

काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उड्ने तीनवटा नयाँ जहाज खरिद गर्ने भएको छ । त्यसका लागि निगमले बोलपत्र आह्वान गरेको छ ।

आइतबार प्रकाशित गरिएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म तोकिएको छ ।

निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको शेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिने गरी जहाज खरिद प्रक्रिया अघि बढाएको हो । हाल निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर मात्र छन् ।

मन्त्री किराँतीले प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान गर्नका लागि तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा निगम रहेको जनाकारी दिए ।