भूकम्पका कारण धादिङको ज्वालमुखीमा २० घर भत्किए, ७५ घर चर्किए

काठमाडौं । आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताए ।

चार रेक्टरस्केलभन्दा माथिका भूकम्पका परकम्पहरू पटक-पटक गएका कारण मानिसहरू घरबाहिर बसेको स्थानीय राजेश अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रविन्दु भई आज बिहान ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । रासस