महानवमीका दिन मात्रै खोलिने तलेजु भवानी मन्दिरमा भक्तजनको भिड

काठमाडौं । हनुमानढोका दरबारमा रहेको तलेजु भवानी मन्दिर सर्वसाधारका लागि आज खुला गरिएको छ। वर्षमा एक पटक महानवमीका दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको भिड लागेको छ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले आइतवार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको थियो।

यस मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ। काठमाडौँ उपत्यकाका तीन सहरबाहेक नुवाकोट, काभ्रे, दोलखा, नालालगायतका स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ।

प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्छन्। अड्डाका अनुसार नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लाइनदेखि अन्य व्यवस्थापन गरेका छन्।