काठमाडौं । मंगलबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशैं मनाइएको छ । वडा दशैंको टिका ग्रहणका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले उत्तम साइत बिहान १० बजेर ३५ मिनेटका लागि तोकेको थियो । समितिका अनुसार साइतको समय तोकिए पनि शुभ साइतपश्चात त्यसदिनभर जुनकुनै समयमा पनि टीका ग्रहण गर्नु उचित हुन्छ ।
नवरात्रका नौ दिनसम्म विभिन्न स्वरुपका देवीहरुको पूजा आराधना गरिन्छ । दशौं दिन अर्थात् दशमी तिथिमा देवीपूजाको प्रसाद स्वरुप टीका, जमरा ग्रहण गर्ने परम्परा रही आएको छ । मुख्य रुपमा वडा दशैंका दिन शुभ साईतमा टिका लगाउने मान्यता भएको भएतापनि देशका विभिन्न क्षेत्रहरुमा टीका ग्रहणको पूर्णिमा तिथिसम्म निरन्तर चल्ने गर्दछ ।
आफूभन्दा ठूलाका हातबाट रातो अक्षताको टीका, जमरा र आशीर्वाद ग्रहण गर्नु दशैं पर्वको मौलिकता हो । परापूर्वकालदेखि चल्दै आएको वडा दशैंको टिका सांस्कृतिक मान्यता अनुसार सेतो अक्षताको टीका प्रयोग गर्ने गरिएको आचार्य अच्चुतशरण लम्साल बताउनु हुन्छ ।
आसुरी शक्तिमाथि सत्यको विजय भएको पर्वका रुपमा लिइने भएकाले दशैंले व्यक्तिभित्र भएको अहम् र दानवी सोचलाई सकारात्मक चिन्तनले त्याग्नु पर्ने प्रेरणा दिन्छ । दशैंमा देवीका विभिन्न रुपको पूजा गर्दै शक्ति उपासना गरिने भएकाले यसले नारीशक्तिको महिमा उजागर गर्नुका साथै सात्विक जीवनशैलीलाई पनि प्राथमिकता दिएको छ आचार्य लम्सालको भनाई छ ।
नेपाली समाजमा मनाइने जुनकुनै पर्व विशेषले वैज्ञानिक महत्व बोक्नुका साथै मर्यादित समाज निर्माणको कल्पना गरेका छन् । राष्ट्रिय चाडका रुपमा समेत मनाईदै आएको दशै हिन्दू धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म विभिन्न देवीको पूजा आराधना गरि मनाउने गर्दछन् । भने दशमीका दिन उनै देवीको प्रसादका रुपमा आफना मान्यजनको हातबाट टिका जमरा ग्रहण गरि दशै पर्व मनाउछन् ।
दशैं पर्वकै लागि विभिन्न पेशा तथा व्यवसायका लागि देश बाहिर रहेका एवं देशभित्रै विभिन्न स्थानमा छरिएर बस्नु भएका व्यक्तिहरु पनि आफ्ना मान्यजनबाट आर्शिवाद एवं टिका ग्रहणका लागि आआफ्नो जन्मथलो फर्कने गर्नु हुन्छ ।
दशैको टिका लगाउँदा टिका लगाउने व्यक्ति पश्चिम र लगाईदिने व्यक्ति पूर्व फर्कनु पर्दछ यसरी बसेर टिका लगाउँदै शुभ हुने धार्मिक विश्वास र मान्यता रहेको छ ।
घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदै राखिन्छ । धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानेको छ भने जमरामा प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई सांकेतिक रुपमा विजयादशमीको प्रसादका रुपमा ग्रहण गरिन्छ ।
पर्वमा निहित आन्तरिक विशेषतालाई विश्लेषण गर्दै समय र समाज अनुकुल तिनको अनुशरण गर्न सके संस्कृति हस्तान्तरण हुनुका साथै यिनले जीवन्तता प्राप्त गर्दछन् ।
Add Comment