टी–२० सिरिज : उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल खेल्न लागेको हो । नेपालले लिग चरणमा यूएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो । यूएईले भने लिग चरणमा एक खेल मात्र जित्न सक्यो ।

आफ्नो दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराए पनि ऊ अन्तिम म्याचमा भने ६९ रनले पराजित भयो । त्यसका बाबजुद यूएई नेट रनरेटमा हङकङभन्दा माथि रहँदै नेपालसँग फाइनल खेल्न लागेको हो ।

नेपाल यूएईविरुद्धको अपराजित यात्रा कायमै राख्दै घरेलु मैदानमा उपाधि आफ्नो पक्षमा पार्ने रणनीतिमा छ । हालसम्म नेपाल र यूएईले एकअर्काविरुद्ध ७ खेल खेलेका छन् । जसमा नेपालले ४ र यूएईले ३ खेल जितेको छ ।

फाइनलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले यूएईविरुद्ध विवेक यादवको ठाउँमा ललित राजवंशीलाई मौका दिने सम्भावना रहेको हो । ललितले टियू मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पछिल्लो समय नेपालको ओपनिङमा समस्या देखिएको छ ।

आसिफ शेखले ठीकठाक प्रदर्शन गरे पनि कुशल भुर्तेलको ब्याट चल्न सकेको छैन । त्यसका बाबजुद पनि फाइनलमा कुशलले निरन्तरता पाउने सम्भावना बलियो छ । उनले टियू मैदानमा सानदार प्रदर्शन गर्दै आएका छन् । यो सिरिजपछि सोमबारदेखि काठमाडौंमै नेपाल र यूएईसहित ८ टिमले टी–२० विश्वकप छनोट खेल्ने छन् ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल सोमबार सिंगापुरविरुद्ध खेल्ने तालिका छ । यस्तै, नेपालले दोस्रो खेल मंगलबार मलेसिया तथा तेस्रो म्याचमा बिहीबार ओमानको सामना गर्नेछ । दुवै समूहबाट शीर्ष दुईरदुई टिम सेमिफाइनलमा पुग्नेछन् । जसबाट फाइनल पुग्ने दुई टोलीले आउँदो वर्षको टी–२० विश्वकप खेल्न पाउनेछन् ।

अर्को वर्षको विश्वकप वेस्ट इन्डिज र अमेरिकाले संयुक्तरूपमा आयोजना गर्दैछन् । अहिलेसम्म १६ देश विश्वकपमा छनोट भइसकेका छन् । अब एसिया र अफ्रिकाबाट विश्वकपमा पुग्ने दुईरदुई टिमको टुंगो लाग्न बाँकी छ ।

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र ललितनारायण राजवंशी ।